Monday, January 9, 2017

धुर्मुस–सुन्तलीद्वारा ‘मुसहर बस्ती’को शिलान्यास, स्थानीयद्वारा भव्य स्वागत

महोत्तरी, पुस २५ ।
हास्य कलाकार धुर्मुस–सुन्तलीले तेस्रो एकीकृत नमूना बस्तीअन्तर्गत मुसहर बस्तीको शिलान्यास गरेका छन् ।

महोत्तरी बर्दिबास नपा–२ स्थित मुसहर बस्तीमा नमूना बस्तीको सोमबार शिलान्यास गरिएको हो । हास्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) र गंगासागर सरसफाइका अभियन्ता रामअशिष यादवले संयुक्त रूपमा बस्तीको शिलान्यास गरेका हुन् ।

बस्ती शिलान्यास गर्न अन्य हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, राजाराजेन्द्र पोखरेल, अर्जुन घिमिरे, कुमार कट्टेल, गायिका मान्डवी त्रिपाठीलगायत पनि बर्दिबास पुगेका थिए ।

त्यसक्रममा मुसहर समुदायका बासिन्दाले धुर्मुस–सुन्तलीलाई फूलमाला लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

बस्ती शिलान्यास कार्यक्रममा बोल्दै हरिवंश आचार्यले सीताराम कट्टेल देशको असल छोरो भएको बताए । त्यस्तै, मदनकृष्ण श्रेष्ठले धुर्मुस–सुन्तलीले राजनीतिक दलहरूलाई चुनौती दिएको प्रतिक्रिया दिए ।

कार्यक्रममा बोल्दै कलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफूले देशप्रतिको उत्तरदायित्व मात्र निभाएको धारणा राखे । ‘म पहिलोपल्ट पूर्व–पश्चि राजमार्ग सरसफाइका लागि यहाँ आइपुग्दा निकै भक्कानिएको थिएँ । मुसहर बस्तीको पीडा, दुःख र गरिबीले एकीकृत नमूना बस्ती बनाउन पोलिरह्यो,’ उनले भने ।

त्यस्तै, कुञ्जना घिमिरे (सुन्तली) आफूहरूले मुसहर बस्तीमा आएर बस्ती बनाउन पाएकोमा खुसी भएको बताइन् ।

४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांगमैत्री, बालमैत्री हुने बताइएको छ । नमूना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिरसमेत बन्ने कट्टेलले जानकारी दिए ।

यसअघि हस्तान्तरण गरिएको गिरानचौर एकीकृत बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख रुपैयाँबाट मुसहर बस्ती निर्माण कार्य थालिएको फाउन्डेसनले जनाएको छ ।

बस्ती आगामी वैशाख १ गते हस्तान्तरण गर्नेगरी काम भइरहेको फाउन्डेसनले जनाएको छ ।

तस्बिर : धुर्मुस–सुन्तली फाउन्डेसन

Previous Post
Next Post

post written by:

0 comments: