विराटनगर, पुस २५ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अवरोधका कारण विराटनगर महानगरपालिका हुन नसकेको खुलासा गरेका छन् । सोमबार नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशनको विराटनगरमा उद्घाटन गर्दै ओलीले कांग्रेसको अवरोधले विराटनगर महानगरपालिका बन्न नसकेको खुलासा गरेका हुन् ।
ओलीले भने, ‘नेपाली कांग्रेसले साह्रा बल लगाएर नरोकेको भए विराटनगर महानगरपालिका हुन्थ्यो ।’
ओलीले जालझेल गरेर संसद्मा संशोधन प्रस्ताव पेश गर्न सफल भए पनि प्रस्ताव पारित गर्न नसक्ने स्पष्ट पारे । उनले संविधान र देशको हितबिपरीत संशोधन प्रस्ताव ल्याइएकाले प्रस्तावको विपक्षमा एमाले सशक्त भएर उभिने र पास हुन नदिने बताए ।
मधेसवादी दलविरुद्ध कडा रूपमा प्रस्तुत भएका ओलीले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई लक्षित गर्दै थान्कामा बस्न सुझाव दिएका छन् ।
उनले भने, ‘एमालेलाई मधेसबाट बिदा गर्ने अभिव्यक्ति दिनेहरूलाई थान्कामा बस्न सुझाव दिन्छु ।’
उनले मधेसवादी कुनै दल नभएको भन्दै मधेसीका नाममा १०/२० हजार भोट बटुलेर समानुपातिक प्रणालीको फाइदा उठाउँदै श्रीमतीलाई सांसद् बनाउन केही मानिस लागि परेको बताए ।
0 comments: