चिरञ्जीवी न्यौपाने
इँटा विकास र समृद्धि यात्राका लागि आवस्यक पर्ने महत्वपूर्ण निर्माण सामग्री हो । यसको महत्व समग्र आर्थिक तथा पूर्वाधार विकासको सवालमा प्रत्यक्ष्य जोडिएको छ । प्रायः मानिसको एउटा सपना परिवार र एउटा सुन्दर घरको निर्माण हो । यसका लागि इँटाको आवश्यक पर्दछ । देशको विकास निर्माणका लागि पनि नभई नहुने वस्तु हो इँटा । यस्तो महत्वपूर्ण वस्तु उत्पादन गर्ने इँटाको उत्पादन गर्ने इँटा उद्योगको कथाव्याथा भने अलिक फरक छ ।
इँटा उद्योगमा काम गर्ने मजदुरका थुप्रै समस्याहरु छन् । त्यसमध्येको प्रमुख समस्या हो– स्वास्थ्य र सरसफाई । नेपालका इँटा उद्योगको कार्यस्थलको वातावरण स्वास्थ्यका दृष्टिले प्रतिकूल छ । त्यहाँ काम गर्ने मजदुरहरु जोखिमपूर्ण वातावरणमा काम गर्दै आएका छन् । यसप्रति इँटा उद्योगीहरु न्यूनतम वातावरणीय मापदण्ड कार्यान्वयन गर्ने मनस्थितिमा छैनन् । अर्कोतर्फ सरकारको अनुगमन पनि फितलो देखिएको छ । यसले मजदुर र उनीहरुका छोराछोरीको अवस्था दयनीय छ । बालबालिकाको मानव अधिकार एवं बाल अधिकार रक्षा हुन सकिरहेको छैन ।
उद्योगमा यस्ता छन् समस्या
– धेरै जसो उद्योगमा पिउने पानीको समस्या जटिल देखिएको छ । त्यहाँ खानेपानीको स्रोतको अभाव हुने गरेका छ भने भएका स्रोतहरु प्नि असुरक्षित र पिउनयोग्य छैन । यसले पानीजन्य रोगको खतरा सधैँ रहने गरेको छ ।
– उद्योग परिसरमा शौचालयको राम्रो प्रबन्ध छैन । यसले मजदुरहरुमा झडापखला, टाइफाइड जस्ता सरुवा रोगहरुको जोखिम बढेको छ ।
-उद्योग परिसरमा हुने अत्यधिक धुलो धुवाँ र प्रदूषण नियन्त्रणका उपाय अपनाइएकोे छैन । मजदुरलाई प्रदूषणबाट बच्न आवस्यक पर्ने माक्स, पन्जा जस्ता सुरक्षाका साधनहरुको अभाव छ । सँगै गएका मजदुरका बालबच्चा पनि त्यसको सिकार भएका छन् ।
-कार्यस्थल सुरक्षामा उद्योगीहरु उत्तरदायी नभएकाले मजुदुरलाई चोट पटक लाग्ने गरेको छ । उनीहरुलाई सेफ्टी हेल्मेटको समेत अभाव छ ।
– गर्मी, जाडो, घाम, पानी, आगोको जोखिम ज्यादा छ ।
-इँटा बोक्दा मेरुदण्डसँग सम्बन्धित समस्या बढ्दै गएका छन् ।
-कोइलालगायतका पदार्थबाट निस्कने रसायनले छालाजन्य रोग र स्वासप्रश्वासमा गम्भीर समस्या देखिँदै आएका छन् ।
– आवश्यक कार्यवातावरणको अभाव, मनोरञ्जनका लागि समयको अभाव, रिफ्रेसमेन्टका लागि अल्कोहलको प्रयोगले झैझगडा हुँदा बालबालिका तथा महिलामा मानसिक समस्या बढेको छ ।
विश्व स्वास्थ्य सङ्गठनाको पेसागत स्वास्थ्य मापदण्ड यस्तो छ
– पेसामूलक स्वास्थ्यको लक्ष्य सबै पेसामा लागेका कामदारहरुको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यको उच्चतम स्तरमा प्रवद्र्धन र निर्वाह गर्नु ।
– काम गर्ने वातावरणको कारणले गर्दा कामदारहरुको स्वास्थ्यमा नकारात्मक स्थिति आउन खोजेमा त्यस्ता कारणहरुबाट प्रभाव पर्न नदिन कामदारहरूको सुरक्षा र स्वास्थ्यमा नराम्रो असर पर्नबाट रोक्नु ।
-कुनै पनि पेसाका मानिसहरुको रोजगारका साथै स्वास्थ्य सवाललाई संरक्षित गर्ने ।
– काम गर्दा हुने बिरामीको उपचारको ग्यारेन्टी गर्ने ।
– कामदारहरुका बालबालिका तथा गर्भवती महिलाको हेरचाहर गर्ने ।
नेपालको श्रम ऐनमा भएको व्यवस्था
-श्रम ऐन २०४८ एवम् श्रम नियमावली २०५० अनुसार स्वास्थ्य सुरक्षासम्बन्धी व्यावस्था अन्तर्गत कामदारले काम गर्नुपर्ने घर, स्थान सफा राखी प्रकाश, हावा तथा तापको व्यावस्था हुनुपर्ने ।
-खाँदेर र विरुप हुनेगरी कामदारलाई काममा लगाउन नहुने
– पिउने पानीको व्यावस्था हुनुपर्ने ।
– आपतकालीन अवस्थाबाट बच्न आगो निभाउन, धुलो पखाल्न पर्याप्त पानीको व्यावस्था हुनुपर्ने ।
पेसामूलक स्वास्थ्य मापदण्को अवलम्बनबाट हुने फाइदा
-कामदारको उत्पादनशील क्षमता बढाउन मद्दत गर्छ
-महिला कामदार तथा उनीहरुका बालबालिकाहरुको स्वास्थ्य रक्षामा सहयोग गर्दछ ।
– काम गर्ने स्थानमा हुने दुर्घटनाहरुको नियन्त्रण र रोकथाम गर्दछ ।
– सरकारी कानुन तथा श्रम ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्दछ ।
– मजदुर तथा सामाजप्रतिको उत्तरदायित्व निर्वाह गर्छ ।
सावधानीका उपाय
इँटा उद्योगमा जोखिम बढी हुने हुनाले सर्वप्रथम इँटा उद्योगमा प्रयोग हुने औजार एवं उपकरणको बारेमा विस्तृत जानकारी लिई ओरियन्ट हुने ।
– भट्टा जलाउने मजदुरहरुले तातोमा नपग्लिने गरी बनाइएका जुत्ताचप्पलको प्रयोग गर्ने ।
–धूमपान एवं मध्यपान नगर्नेे
– नाइलन जस्ता कपडाको प्रयोग नगर्ने
– शुद्ध पानी प्रशस्त मात्रामा पिउने जसले गर्दा पसिनाबाट गएको पानीको मात्रालाई व्यावस्थापन गर्न सकियोस् ।
– प्राथामिक उपचार पद्धतिलाई प्रभावकारी बनाउने ।
– जनचेतना बढाउने आदि ।
देशको महत्वपूर्ण उद्योगका रुपमा रहेको इँटा उद्योगलाई व्यावस्थित गर्नका लागि व्यावसायी, सरकारलगायतका सरोकारवाला निकायहरु गम्भीर बन्नु जरुरी छ ।
0 comments: