Thursday, January 12, 2017

युवालाई स्वदेशमै रोजगारी – उद्योगमन्त्री जोशी

भक्तपुर,पुस २८ । उद्योगमन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने बताउनुभएको छ । आज भक्तपुरको सूर्यविनायक नगरपालिकाको तेस्रो नगर परिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले १० वर्षपछि यहाँका युवाले रोजगारीका लागि विदेश पलायन हुनु नपर्ने बताउनुभयो ।

उद्योगको विकासले मात्रै अहिले देखापरेको रोजगारीको चुनौतीलाई चिर्न सक्नेमा जोड दिँदै उहाँले युवा लक्षित उद्योगको विकास जरुरी रहेकाले सरकारको ध्यान यसतर्फ केन्द्रित भएको बताउनुभयो । मन्त्री जोशीले देशको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, केदार सञ्जेल र अनुराधा थापामगरले स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले आव २०७४÷७५ का लागि रु १९ करोड ४५ लाख ४८ हजारको बजेट सार्वजनिक गर्नुभयो ।

नगरपालिकाको आन्तरिक स्रोतबाट रु छ करोड ५५ लाख, बाह्य स्रोतबाट रु १२ करोड ९० लाख ४८ हजार, चालु खर्चतर्फ रु पाँच करोड ३५ हजार र पुँजीगत खर्चतर्फ रु १४ करोड ४५ लाख १३ हजार विनियोजन गरिएको अधिकारीले जानकारी दिनुभयो । रासस

Previous Post
Next Post

post written by:

0 comments: