Monday, January 9, 2017

संसदभित्रै प्रधानमन्त्री र मन्त्रीहरुसँग प्रश्नोत्तर गर्न सकिने

प्रश्नोत्तरसम्बन्धी कार्यविधि अनुमोदन

काठमाडौं,पुस २५ – व्यवस्थापिका–संसद् बैठकले सरकारलाई संसद्प्रति जवाफदेही बनाई सर्वसाधारण जनतालाई सरकारको काम कारबाहीको जानकारी प्रत्यक्ष रुपमा गराउन ‘प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्यविधि, २०७३’ अनुमोदन गरेको छ ।

संसद्को आजको बैठकले अनुमोदन गरेको कार्यविधिअनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र रहेका मन्त्रालय र प्रधानमन्त्रीसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयका प्रश्न सोध्नका लागि सभामुखले साधारणतया प्रत्येक महिनाको दोस्रो आइतबार पहिलो दुई घन्टा निर्धारण गर्न सक्नेछन् ।

त्यस्तै जरुरी र महत्वपूर्ण विषयका प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार साधारणतयाः पहिलो दुई घन्टा निर्धारण गर्न सक्नेछन् । यस कार्यविधिमा संसद्मा सञ्चालन हुने प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमलाई नेपाल टेलिभिजनलगायत अन्य सञ्चारका माध्यमबाट समेत प्रत्यक्ष प्रसारण गर्न सकिने उल्लेख छ ।

त्यस्तै आजको बैठकमा ‘राष्ट्रिय महिला आयोग विधेयक, २०७३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भएको छ । सो प्रस्ताव प्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पेस गर्नुभएको थियो । बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राज्यमन्त्री नियुक्तिसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

सभामुखले कार्यव्यवस्था परामर्श समितिमा केही सदस्यहरुको नाम हेरफेर भएको जानकारी गराउनुभयो । रासस

Previous Post
Next Post

post written by:

0 comments: